निरन्तर बढेको नेप्सेमा ब्रेक, साढे सात अर्बको कारोबार हुँदा ७ वटै कम्पनीको सेयर मूल्यमा सर्किट

  २०७७ माघ ६ गते ३:३२       विकासन्युज

काठमाडौं । दुई साताअघिदेखि निरन्तर उकालो लागेको नेप्सेमा मंगलबार ब्रेक लागेको छ । निरन्तर उकालो लागेर दैनिक नयाँ नयाँ उचाईमा पुग्न सफल भएको परिसूचक आजको बजारमा भने सामान्य अंकले घटेको हो ।

मंगलबार कारोबार शुरु भएदेखि ओरालोको बाटो तय गरेको नेप्सेले अन्ततः बजार बन्द हुँदा सामान्य ५.५७ अंकले घटेर २३२६.९० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले घटी हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले घटेर ४४२.८२ बिन्दुमा झरेको छ ।

बजारमा नेप्सेमा गिरावट देखिएपनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको बजारमा एकैदिन ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हिजो अर्थात सोमबारको तुलनामा एक अर्ब १५ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा कूल ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबारको बजारमा कूल २०६ कम्पनीको एक करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता २६८९ रुपैयाँ पुगेको छ ।

सो दिनको बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये अधिकांश फाइनान्स कम्पनी रहेका छन् । प्रोगेसिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । मंगलबार यी तीनै कम्पनीको सेयर मूल्य क्रमशः १६५, २९७ र ३५२ रुपैयाँ रहेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

बजारमा तीन समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १२४ अंकले घटेको छ । बढ्नेमा सबैभन्दा बढी जीवन बीमा समूह ५३५ अंकले बढेको छ । त्यस्तै, ट्रेडिङ र फाइनान्स समूह क्रमशः ३९ र ३७ अंकले बढेका छन् भने बाँकी समूह घटेका छन् ।

मंगलबार सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.७४ प्रतिशत गुमाएका छन् । जुन अघिल्लो दिनको तुलनामा १०९ रुपैयाँ कम हो । सोमबार प्रतिकित्ता १४०९ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता १३०० रुपैयाँमा झरेको हो ।