नेप्सेमा रेकर्ड कायमैः परिसूचकले पार गर्यो २२६७ बिन्दु, कारोबार रकम ४ अर्ब ९८ करोडमा सीमित

  २०७७ पौष २८ गते ३:३४       विकासन्युज

काठमाडौं । पछिल्लो समय नेप्से परिसूचकले दैनिक रेकर्ड राखेको छ । गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले मंगलबार पनि नयाँ रेकर्ड राख्न सफल भएको हो ।

आज मंगलबार नेप्से परिसूचक २२६७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने सोमबारको तुलनामा २८.३१ अंकले बढेको हो । यसअघिको बजारमा परिसूचक उक्त बिन्दुमा पुगेको थिएन ।

त्यस्तै, बजारमा क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंकले बढेर ४३३.२८ बिन्दुमा पुगेको छ ।

नियमति समयसम्म कारोबार भएको मंगलबारको बजारमा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा ५४ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा कूल ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सो दिन कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी अर्थात २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको सबैभन्दा बढी कारोबार भएको हो । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो ।