नेप्से हालसम्मकै उच्च बिन्दुमा, साढे ५ अर्बको कारोबार हुँदा सबैभन्दा बढी सिद्धार्थ बैंकको

  २०७७ पौष २७ गते ३:३२       विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार दुई दिन रेकर्ड राखेको पुँजीबजारले सोमबार पनि नयाँ उचाईमा पुगेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

सोमबारको परिसूचक सामान्य अंकले बढेर २२३९.४२ बिन्दुमा पुगेको छ । जुन उच्च बिन्दु हो । यसअघि हिजो आइतबार मात्रै परिसूचक ४१.२४ अंकले बढेर २२३५ बिन्दुमा पुगेर रेकर्ड राखेको थियो । तर उक्त रेकर्डलाई सोमबारको परिसूचकले तोडेर अर्को नयाँ रेकर्ड राख्न सफल भएको छ ।

कारोबार शुरु भएको केही समयमै परिसूचक बढेर २२६६ बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने परिसूचक करेक्सन तर्फ फिर्किएर अन्तत २२३९ बिन्दुमा अडिएको हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले बढेर ४२९.३९ बिन्दुमा पुगेको छ ।

बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर २०८ कम्पनीको १ करोड ३५ लाख कित्ता सेयर ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँ रहेको छ ।
बजारमा बढी कारोबार हुनेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंक नै रहेका छन् ।

सोमबार विभिन्न ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी आरम्भ चोतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८९२ रुपैयाँ पुगेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ७६४ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यूनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.७४ र ९.७३ प्रतिशतले बढेको छ । सोमबार यी दुबै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता क्रमशः २९३ र २८२ रुपैयाँमा भएको थियो ।

बजारमा केही समूह उकालो लागेका छन् भने केही ओरालो लागेका छन् । उकालो लाग्नेमा सबैभन्दा बढी निर्जीवन बीमा समूह १७६ अंकले बढेको छ भने ओरालो लाग्नेमा सबैभन्दा बढी उत्पादनमूलक समूह ४१.३२ अंकले घटेको छ ।