सेयर बजारमा रेकर्डः २२०० बिन्दु पार गरेर फर्कियो नेप्से परिसूचक, कसले कमाए बढी ?

  २०७७ पौष २३ गते ३:४४       विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारले नयाँ रेकर्ड राखेको छ । सो दिन नेप्से परिसूचक बढेर हालसम्मकै उच्च बिन्दुमा पुगे पछि बजारले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

बिहीबार दिउँसो एक बजे परिसूचक २२०४ बिन्दुमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने सामान्य करेक्सन देखिएर अन्तत परिसूचक २१९४ बिन्दुमा अडिएको छ । जुन बिन्दु हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा १५.९१ अंकले बढी हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०८ अंकले बढेर ४२१.२२ अंकमा पुगेको छ ।

बिहीबारको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । बजारमा एकैदिन ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४५ करोड रुपैयाँले बढी हो । बुधबारको बजारमा कूल ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो ।

बिहीबार २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३१ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ रहेकोे छ ।

त्यस्तै, बजारमा कारोबारमा आएको अन्य समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १४४ अंकले बढेको छ । अन्य समूह भने सामान्य ३.६४ अंकले घटेको हो ।

५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

बिहीबार विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९३, आईएमई जनरल इन्स्योरेन्सको ९.९२, नारायणी डेभलपमेन्ट बैंकको ९.९१ र प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ ।