नेप्सेमा उछाल कायमै, आज पनि रच्यो नयाँ रेकर्ड

  २०७७ मार्ग १५ गते ३:२१       विकासन्युज

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै रहेको छ । पछिल्लो दिनदेखि निरन्तर बढ्दै आएको नेप्सेले आज (सोमबार) पनि ऐतिहासिक उचाई चुम्न सफल भएको हो ।

सोमबारको बजारमा परिसूचक २८.७९ अंकले बढेर १९९७.०५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । उक्त बिन्दु आइतबारको तुलनामा १.४६ प्रतिशतले बढी हो ।

नेप्सेले प्रि ओपनिङ्ग सेसनमै २००० बिन्दु पार गरेको थियो । त्यसपछिको बजारमा पनि परिसूचक निरन्तर बढेर अधिकतम २०२८ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने बजारमा उचार चढाव देखियो । र, अन्ततः बजार बन्द हुँदा परिसूचक २८ अंकले बढेर १९९७ अंकमा पुगेको छ ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३८५.५६ अंकमा पुगेको छ ।

आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकममा भने करेक्सन भएको छ । आइतबार ९ अर्ब माथिको सेयर किनबेच भएको बजारमा सोमबार भने ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १८५५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४५४ रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकमध्ये प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ३६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ पुगेको छ ।

बजारमा सबैभन्दा बढी जीवन बीमा समूह ८२३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १९३, ट्रेडिङ् १५१, हाइड्रो ८९, उत्पादनमूलक ७३, अन्य ४० र माइक्रोफाइनान्स ३७ अंकले बढेको छ । आइतबार ७.८१ अंकले बढेको बैंकिङ्ग समूह सोमबार ७.३८ अंकले घटेको छ । विकास बैंक समूह पनि ५.४१ अंकले घटेर करेक्सन भएको छ ।

साेमबार ९ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी युनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य १६ रुपैयाँले बढेर प्रतिकित्ता १७६ रुपैयाँ पुगेको हो ।

त्यस्तै, अपर तामाकोशीको ९.८०, ग्रीन डेभलपमेन्ट बैंकको ९.७०, नेपाल बङ्गलादेश बैंकको ९.७०, नेपाल बङ्गलादेश बैंकको ९.६९, साञ्जेन जलविद्युत कम्पनीको ९.६२, रसुवागढी हाइड्रोपावरको ९.६१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९.४४, साल्ट ट्रेडिङ्गको ९.१७ र नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.१६ प्रतिशतले बढेको छ ।

आइतबार जस्तै सोमबार पनि विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत नै गुमाएका छन् । कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ३२४० रुपैयाँमा झरेको छ । त्यस्तै, बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले ५.४२ प्रतिशत गुमाएका छन् ।