सेयर बजारमा दैनिक रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब माथिको कारोबार, के भन्छन् लगानीकर्ता ?

  २०७७ मार्ग १४ गते ३:१५       विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ । सेयर बजारमा लगानी गर्नकाे लागि हरेक हिसाबले उपयुक्त भएसँगै नेप्से परिसूचक र कारोबार रकम दुबैले ऐतिहासिक उचाई चुम्न सफल भएका हुन् ।

गत बिहीबारको जस्तै आज(आइतबार)को बजारले पनि परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड राखेको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ७५.०२ अंक(३.९६ प्रतिशत) ले बढेर १९६८.२७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै ऐतिहासिक उचाई हो । गत बिहीबारमा मात्रै परिसूचक १८९३ अंकमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । तर उक्त कीर्तिमानलाई आइतबारको बजारले तोड्न सफल भएको छ ।

परिसूचकसँगै कारोबार रकमले पनि यसअघिको रेकर्ड तोडेको छ । गत बिहीबार मात्रै ७ अर्ब ६१ करोडको सेयर कारोबार भएर नयाँ रेकर्ड राखेको बजारले त्यसको लगत्तै आइतबार सो भन्दा बढी कारोबार भएर नयाँ रकेर्ड राख्न सफल भएको छ । यससँगै आइतबारको बजारमा कारोबार रकमले ९ अर्ब २२ करोड रुपैयाँ पार गरेको छ । नियमित समयमा भएको कारोबारमा २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर किनबेच भएको छ ।

यस्तै सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको मात्रै ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बढीको शेयर खरिदविक्री भएको छ । यस्तै कुमारी बैंकको सेयर कारोबार पनि ४० करोड ८० लाख ६२ हजार रुपैयाँ बढीको भएको छ । आइतबार कुमारी बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले सेयरको माग बढाएको देखिन्छ । ३० करोड रुपैयाँ भन्दा बढी सेयर कारोबार हुने कम्पनीहरुमा नबिल बैंक, प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

कारोबारमा आएका समूह मध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यस बाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । बैंकहरुको सेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै विकास बैंक समूह ८ दशमलव ११ प्रतिशतले बढेको छ । त्यसपछि बैंकिङ समूह ७ दशमलव ८१ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा समूह २ दशमलव २४ प्रतिशतले बढेको छ । जलविद्युत समूह १ दशमलव ८ प्रतिशत, वित्त समूह १ दशमलव ३७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ९७ प्रतिशत, म्यूचअल फण्ड समूह शुन्य दशमलव ४१ प्रतिशत र अन्य समूह शुन्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

कारोबार बन्द हुँदासम्म ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस बाहेक १८ वटा कम्पनीहरुको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि ५० वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा बिशालबजार कम्पनीका सेयरधनी रहेका छन् । जसको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

अहिले सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त माहोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा सेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने लगानीकर्ताहरूले विश्वास गरेका छन् ।

‘बजारमा नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ । यो बेलामा नयाँ वा पुरानो जोसुकैले पनि हौसियर लगानी गर्नु हुँदैन । हामीले सँधै भन्दै आएका छौं । लगानीकर्ताले राम्रो कम्पनी छानेर, कम्पनीको बारेमा बुझेर, अग्रजहरुसँग सल्लाह गरेर मात्र लगानी गर्ने । यो समयमा बुझेर लगानी गर्यो भने त्यति आत्तिनु पर्दैन ।’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

त्यस्तै, पुँजी बजार बारे जानकार दिलिप मुनंकर्मीले समाजिक सञ्जाल मार्फत ‘नआत्तिनु, नमात्तिनु, उन्मादमा कुनै गलत निर्णय नलिनु’ भनेर सबै लगानीकर्तालाई सुझाव दिएका छन् ।