पुँजी बजारमा नयाँ कीर्तिमानः नेप्से परिसूचक र कारोबार रकम दुबैले तोडे रेकर्ड

  २०७७ मार्ग ११ गते ३:१८       विकासन्युज

काठमाडौं । बिहीबार नेपाली पुँजी बजारकाे इतिहासमै नयाँ कीर्तिमान कायम भएकाे छ । बिहीबार एकैदिनकाे बजारमा कारोबार रकम र नेप्से परिसूचक दुबैले ऐतिहासिक रेकर्ड राख्न सफल भएका छन् ।

बजारमा एकैदिन साढे ७ अर्ब माथि अर्थात ७ अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि गत आइतबार (मंसिर ७ गते) मात्रै पौने ७ अर्ब बढी अर्थात ६ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने उक्त रेकर्डलाई बिहीबारको बजारले तोडेको छ ।

बिहीबारको बजारमा कूल २०१ कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर साढे ७ अर्ब रुपैयाँ बढीमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५८ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १३३९ रुपैयाँ रहेको छ । यस्तै नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । २० करोड भन्दा माथि कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, सोहि दिनको बजारमा नेप्से परिसूचकले पनि ऐतिहासिक उचाई कायम गरेको छ। बजार बन्द हुँदा परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुग्न सफल भएको छ । उक्त बिन्दु हालसम्मकै उच्च बिन्दु हो । यसअघि ४ वर्षअघि अर्थात २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्सेले उच्च बिन्दु पार गरेको थिएन । तर बिहीबारको बजारले सजिलै उक्त बिन्दुलाई पार गरी नयाँ किर्तिमान कायम गरेकाे छ ।

बजारमा कारोबार शुरु भएको एक घण्टाको अवधिमा नेप्से परिसूचक अधिकतम १९२६ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने उक्त उचाइमा ब्रेक लाग्याे । र, अन्तत बजार बन्द हुँदा परिसूचक  १८९३ अंकमा अडिएकाे हाे । जुन इतिहासकै उच्च बिन्दु बन्न सफल भयाे ।

परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेर ३६५ अंकमा पुगेको छ ।

बिहीबारको बजारमा तिब्र उतारचढाव हुँदा केही समूहमा मात्रै वृद्धि देखिएको छ । बैंकिङ समूह २ दशमलव ७ प्रतिशत, जलविद्युत समूह शुन्य दशमलव ४६ प्रतिशत, अन्य समूह १ दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव ६२ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । व्यापार समूह ५ दशमलव ३३ प्रतिशत, होटल समूह २ दशमलव १ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत, वित्त समूह शुन्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव ६७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूह १ दशमलव २१ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । ९ प्रतिशत भन्दा धेरै कमाउनेमा पाचथर पावर कम्पनी, हिमायल उर्जा विकास कम्पनी, आखुखोला जलविद्युत कम्पनी लगायतका कम्पनीका सेयरधनी रहेका छन् । बजारमा तीब्र उतारचढाव हुँदा सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनी रहेका छन् । यो कम्पनीका लगानीकर्ताले ६ दशमलव १८ प्रतिशतले गुमाएका छन् ।

यसकारण बढ्दै बजार

अहिले सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त माहोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ ।

सम्बन्धित समाचारः

सेयर बजारमा रेकर्ड ब्रेकः नेप्सेले पार गर्याे १९०० बिन्दु