रेकर्ड ब्रेक गर्ने तरखरमा नेप्सेः एकैदिन ६४ अंकले बढ्यो, अधिकांश समूहमा छायाे हरियाली

  २०७७ मार्ग १० गते ३:१४       विकासन्युज

काठमाडौं । नेप्से परिसूचक रेकर्ड ब्रेक गर्ने तर्फ मोडिएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको नेप्से परिसूचक बुधबार एकैदिन ६४.७० अंकले बढेर १८७४.८१ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.५७ प्रतिशतले बढेको हो ।

यससँगै परिसूचक यसअघिको रेकर्ड ब्रेकको नजिक पुगेको छ । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च बिन्दु हो ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले बढेर ३६२.३३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.७१ प्रतिशतले बढी हो ।

बजारमा ४ अर्ब ९८ करोडको सेयर कारोबार भएको छ । सो दिन १९६ कम्पनीको एक करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सको प्रमोटर सेयर किनबेच भएको छ । इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ ।

बजारमा होटल समूह बाहेक सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ३१६ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक ३००, जीवन बीमा १९०, ट्रेडिङ्ग १७९ र माइक्रोफाइनान्स १०६ अंकले बढेको छ । होटल समूह सामान्य अंकले घटेको छ ।

याे पनि पढ्नुहाेस्ः

बुधबार १० कम्पनीको सेयर मूल्यमा सर्किट, कुन कुनको ?