पुँजी बजारमा दिनदिनै नयाँ रेकर्ड, पौने ७ अर्ब माथिको कारोबार, बैंकिङ्ग समूहमा छायो हरियाली

  २०७७ मार्ग ७ गते ३:२१       विकासन्युज

काठमाडौं । पछिल्लो समय पुँजी बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ । पछिल्लो सातादेखि यता नियमित बढ्दै गएको सेयर बजारले आइतबार पुनः नयाँ रेकर्ड हासिल गरेको छ ।

आइतबारको बजारमा पौने ७ अर्ब बढी अर्थात ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै ऐतिहासिक सेयर कारोबार हो । यसअघि गत बिहीबार(मंसिर ४ गते) मात्रै ६ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आइतबार (आज)को बजारमा कूल २०१ कम्पनीको एक करोड ५९ लाख ६५ हजार कित्ता सेयर किनबेच भएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीकाे सबैभन्दा बढी सेयर काराेबार भएकाे  छ । कम्पनीकाे एकैदिन ५७ कराेड ९१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।

उच्च कारोबार भएको सो दिनको बजारमा नेप्से परिसूचकमा भने उतारचढाव देखिएको छ । बजार खुलेको १२ मिनेटमै परिसूचकले १८११ अंक पार गरेको थियो । तर त्यसपछिको बजारमा भने सामान्य करेक्सन हुँदै अन्ततः बजार बन्द हुँदा परिसूचक ४.६९ अंकले बढेर १७८२.८१ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ३४५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५८ प्रतिशतले बढी हो ।

बजारमा बैंकिङ्ग समूहमा हरियाली छाएको छ । अघिल्लो कारोबारमा ओरालो लागेका बैंकिङ्ग समूह आज सबैभन्दा बढी अर्थात २९ अंकले उकालो लागेका छन् । त्यस्तै, विकास बैंक समूह १३.४६ अंक र अन्य समूह १.३५ अंकले बढेका छन् । अन्य बाँकी समूह भने राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २७८ अंकले घटेको छ ।


सम्बन्धित समाचारः

काराेबारमा उछालः ३० मिनेटमै एक अर्ब माथिको सेयर किनबेच

१० मिनेटमै ३० अंकले बढ्यो नेप्से, परिसूचकले पार गर्यो १८०० अंक

लगानीकर्ता भन्छन्- सेयर बजारले थप नयाँ रेकर्ड राख्न सक्छ, नहौसिई लगानी गर्नुस्