सानिमा जनरल इन्स्योरेन्ससहित ३ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ कार्तिक २४ गते ३:४२       विकासन्युज

काठमाडौं । सोमबारको बजारमा सानिमा जनरल इन्स्योरेन्स सहित तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२० रुपैयाँ पुगेको छ । त्यस्तै, मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य बराबर अर्थात ९.९३ प्रतिशतले बढेको छ । सोमबार यी दुबै कम्पनीको सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता ९५२ र ४५४ रुपैयाँ पुगेको छ ।

समग्रमा सोमबारको नेप्से परिसूचक सामान्य ४.२२ अंकले बढेर १६५२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

नियमित समयसम्म भएको कारोबारमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबारको बजारमा कम्पनीको सेयर मूल्य ८.३९ प्रतिशत अर्थात ७५ रुपैयाँले बढेर प्रतिकित्ता ९६९ रुपैयाँमा पुगेको हो ।