बजारमा साढे ३ अर्ब माथिको कारोबार, ६ कम्पनीको मूल्यमा सर्किट

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा साढे ३ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको बजारमा १९८ कम्पनीको १ करोड ८ लाख कित्ता सेयर ३ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबरमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ रहेको छ ।

त्यस्तै, अन्य ५ कम्पनीको १० करोड माथिको सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको १५ करोड ९६ लाख, शिखर इन्स्योरेन्स कम्पनीको १२ करोड ३० लाख, अपि पावरको १२ करोड ८ लाख, बैंक अफ काठमाण्डूको १० करोड ४८ लाख र शिवम् सिमेन्टसको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार आएको छ । पछिल्लो कारोबारको तुलनामा आइतबारको बजारमा नेप्से परिसूचक १२.४९ अंकले बढेर १६४८.५८ अंकमा पुगेको छ । जुन ०.७६ प्रतिशतले बढी हो ।

आइतबार कूल १२ समूह कारोबारमा आएका थिए । जसमध्ये विकास बैंक र बैंकिङ्ग समूह क्रमशः ६.७६ र १.१६ अंकले ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । उत्पादन मूलक समूह सबैभन्दा बढी १२२ अंकले बढेको छ र म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.१५ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको ९.९७, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको ९.९५, दिब्यश्वरी हाइड्रोपावरको ९.९२, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.९०, यूनिभर्सल पावर कम्पनीको ९.८६ र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।