प्राइम बैंकको एकैदिन पौने २१ करोड माथिको कारोबार, चार कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ कार्तिक २० गते ४:५७       विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको एकैदिन २० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बुधबारको तुलनामा ११ करोड ७९ लाख रुपैयाँले बढी हो । बुधबारको बजारमा कम्पनीको ९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार हुनेमा प्राइम बैंक अग्रस्थानमा रहेको छ । पछिल्ला दिनमा पनि प्राय उच्च कारोबार हुँदै आएको यस बैंकको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको दिन पनि उच्च कारोबार भएको छ । उक्त विवरण अनुसार बैंकले चालु आवको पहिलो तीन महिनामा अधिकांश सूचकमा उल्लेख्य वृद्धि गरेको छ । तीन महिनामै बैंकले एक अर्ब बढी नाफा कमाएको छ । त्यसैले, त्यसको प्रभाव बिहीबारको बजारमा देखिएको बुझिन्छ ।

बैंकको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा बैंकको सेयर मूल्य ३४६ रुपैयाँ रहेको थियो ।

त्यस्तै, अन्य ४ कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसमा अरुण काबेली पावरको १८ करोड ५४ लाख, एभरेष्ट बैंकको १६ करोड ४५ लाख, अपि पावरको १४ करोड ३४ लाख र हिमालयन डिष्टिलरीको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको तुलनामा बिहीबारको सम्रग बजारको सेयर कारोबार रकममा वृद्धि भएको छ । बुधबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने २ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ९ करोड रुपैयाँले बढी हो ।

बजारमा कारोबार रकममा सुधार आएपनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बिहीबारको सूचक ४.४७ अंकले घटेर १६३६ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले घटी हो ।

सामान्य अंकले घटेको बजारमा ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशत अर्थात एकैदिन ३४ रुपैयाँ बढी कमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । यससँगै, दोश्रो बजारमा कारोबार शुरु भएको दुई दिनमै कम्पनीका सेयरधनीले ६५ रुपैयाँ बढी कमाएका छन् । जबकी इन्स्योरेन्सको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँबाट शुरु भएको थियो ।

त्यस्तै, रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९१ प्रतिशत, गोर्खाज फाइनान्सको ९.६८ र सिन्धु विकास बैंकको सेयर मूल्य ९.३८ प्रतिशतले बढेको छ । बिहीबार बजार बन्द हुँदा यी तीनै कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २४४, १७० र १७५ रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका चार समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह १३ अंकले बढेको छ भने सबैभन्दा बढी घट्नेमा ट्रेडिङ्ग समूह रहेको छ ।