बिशाल बजार र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, प्राइम बैंककाे उच्च कारोबार

  २०७७ कार्तिक १९ गते ४:००       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा बिशाल बजार र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

दिनभरको बजारमा विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५७५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको कारोबारको तुलनामा २ सय ३४ रुपैयाँले बढी हो । अघिल्लो दिन मंगलबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ हजार ३ सय ४१ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, दोश्रो बजारमा पहिलो दिन कारोबार भएको सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । प्रतिकित्ता ३११ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य अन्तत ९.९७ प्रतिशत अर्थात ३१ रुपैयाँले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता २ सय रुपैयाँ पुगेको छ ।

बुधबारको बजार सामान्य अंकले ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.३९ अंकले घटेर १६४० अंकमा झरेको छ ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार २ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने जम्मा एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार सीमित भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४८ करोड रुपैयाँले घटी हो ।

दिनभरको बजारमा २०२ कम्पनीको ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको ९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४६ रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ८८ अंकले घटेको छ भने ट्रेडिङ समूह सबैभन्दा बढी २५ अंकले बढेको छ ।