बजारमा एनटीसीको सबैभन्दा बढी कारोबार, ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो

  २०७७ कार्तिक १८ गते ४:०५       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिनमा १० करोड ३ लाख २१ हजार ५ सय ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे ।

मंगलबार कम्पनीको सेयर मूल्य सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार प्रतिकित्ता ७ सय २७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ७ सय ५१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २४ रुपैयाँ अर्थात ३.३० प्रतिशतले बढी हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ३४ लाख रुपैयाँ र प्राइम कमर्शियल बैंकको ८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको सेयर बजारमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.४० अंकले बढेर १६४३ अंकमा पुगेको छ ।

दिनभरको बजारमा कूल १९८ कम्पनीको २ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य २१२ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ३ सय ४१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय ४२ रुपैयाँ पुगेको छ । पाँचथर पावर कम्पनीको ९.७३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ९.४३ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेको छ । यी तीनै कम्पनीको सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता २०३, १७४ र १२ हजार ६४५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर मूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता २२९ रुपैयाँमा झरेको छ ।

बजारमा विकास बैंक र बैंकिङ्ग समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १७६ अंकले उकालो लागेको छ । विकास बैंक र बैंकिङ्ग समूह भने क्रमशः १६.२१ र २.१७ अंकले घटेका छन् ।