आइतबार ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७७ कार्तिक १६ गते ४:२३       विकासन्युज

काठमाडौं । आइतबार विभिन्न ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सामान्य अंकले घटेको बजारमा ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले र बाँकी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतको लेभलमा सेयर मूल्य बढेको हो ।

हिमालय उर्जा विकास कम्पनी, नेपाल फाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १९८, २७५ र १,९३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता २२५ रुपैयाँ पुगेको छ । त्यसैगरी, नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशत अर्थात ७२ रुपैयाँले बढेको छ । आइतबार संस्थाको सेयर प्रतिकित्ता ८ सय २५ रुपैयाँमा किनबेच भएको छ ।

आइतबारको बजारमा सामान्य अंक अर्थात ४.७२ अंकले ओरालो लागेर १६४० अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.२९ प्रतिशतले कमी हो ।

बजारमा कूल २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी शिवश्री हाइड्रोपावरको २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको १६ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी माइक्रोफाइनान्स समूह २९ अंकले बढेको छ भने होटल समूह सबैभन्दा बढी १५.२९ अंकले घटेको छ ।