नेप्सेमा सामान्य करेक्सन हुँदा ३ अर्बमाथिको सेयर कारोबार, सबैभन्दा बढी वाणिज्य बैंककाे

  २०७७ कार्तिक १३ गते ३:३७       विकासन्युज

काठमाडौं । बुधबार दोहोरो अंकले उकालो लागेको बजारमा बिहीबार भने सामान्य करेक्सन भएको छ । दिनभर उतारचढाव देखिएको बिहीबारको बजारमा नेप्से परिसूचक १.७८ अंकले ओरालो लागेर १६४५.६७ अंकमा झरेको छ । जुन बुधबारको तुलनामा ०.११ प्रतिशतले घटी हो ।

नेप्से परिसूचकमा करेक्सन आएपछि क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकले बढेर ३२८ अंकमा पुगेको छ ।
बजारमा १९२ कम्पनीको कूल ३ अर्ब ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ४१ हजार ९०९ पटक भएको कारोबार कूल एक करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको १३ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको १३ करोड ५९ लाख, एनएमबि बैंकको १२ करोड ३६ लाख, ग्लोबल आईएमई बैंकको १२ करोड ९ लाख, एनआईसी एशियाको ११ करोड ८१ लाख र नेपाल बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको पनि १० करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन नै संस्थाको सो मात्राको सेयर कारोबार भएको हो ।

त्यस्तै, पहिलाे दिन नै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिकित्ता १२० रुपैयाँदेखि सेयर कारोबार शुरु भएको थियो ।