नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

  २०७७ असोज २९ गते ३:३४       विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.२९ अंकले बढेर १५६२ अंकमा पुगेको छ ।

बजारमा १९६ कम्पनीको एक अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबार मात्रै लाभांश घोषणा गरेको शिवम् सिमेन्टको ६ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीको सेयर मूल्य २ रुपैयाँले बढेर प्रतिकित्ता ७५८ रुपैयाँ पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य क्रमशः ९.८७ र ९.८५ प्रतिशतले बढेको छ ।

बिहीबार जलविद्युत् समूहको सबैभन्दा बढी अर्थात ७ अंकले बढेको छ भने उत्पादनमूलक समूह सबैभन्दा बढी २९.५५ अंकले घटेको छ ।