आइतबार २ अर्ब ३९ करोडको सेयर कारोबार, फाइनान्स बाहेक सबै समूह राताम्मे

  २०७७ असोज २५ गते ३:५३       विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको बजारमा २ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

आइतबार बजार खुलेदेखि नेप्से परिसूचक ओरालो लागेको थियो । अन्ततः बजार बन्द हुँदा परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.८४ प्रतिशतले घटी हो ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अपी पावरको पनि १० करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यी दुबै कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता १३८६ र २०८ रुपैयाँ रहेको छ ।

आइतबार फाइनान्स समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ८६ अंकले घटेको छ । फाइनान्स समूह भने १७.५ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आईसीएफसी फाइनान्सको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ सय ४६ रुपैयाँ रहेको छ । उता अपी पावरको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ७.१४ प्रतिशतले घटेको छ ।