सेयर बजारमा एक अर्ब ८२ करोडको कारोबार, लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा

  २०७७ असोज १३ गते ४:०५       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा एक अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा एक सय ९२ कम्पनीको ७३ लाख ५ हजार एक सय ११ कित्ता सेयर करिब २ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी अरुण काबेली पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ सय २८ रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय १९ रुपैयाँ रहेको छ ।

मंगलबार लगानीकर्ताको आकर्षण हाइड्रो कम्पनीको सेयरमा रहेको छ । सो दिन हाइड्रो समूह २८ अंकले बढेर १३०८ अंकमा पुगेको छ । त्यस्तै, उत्पादनमूलक समूह ६ र म्युचुअल फण्ड समूह ०.०२ अंकले उकालो लागेका छन् भने बाँकी सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४४ अंकले ओरालो लागेको छ ।

त्यस्तै, सबैभन्दा बढी कमाउनेमा पनि हाइड्रो समूह अग्रस्थानमा रहेको छ । जोशी हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय १० रुपैयाँ रहेको छ ।

बजारमा नेप्से परिसूचक ७.२१ अंकले घटेर १५५३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले कमी हो ।