नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा वृद्धि, सबैभन्दा बढी शिखर इन्स्योरेन्सको

  २०७७ असोज ६ गते ४:१२       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा सेयर कारोबार रकममा वृद्धि भएको छ । बजारमा कुल २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा मंगलबारको बजारमा करिब १८ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सो दिन कूल १९९ कम्पनीको ७८ लाख ५६ हजार ७ सय ८८ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेसँगै त्यसकाे प्रभाव कम्पनीकाे सेयर मूल्यमा परेकाे छ । मंगलबार कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता एक हजार ३ सय ३५ रुपैयाँमा झरेको छ । जुन सोमबार प्रतिकित्ता एक हजार ३ सय ३८ रुपैयाँ थियो ।

मंगलबार सेयर कारोबार रकममा सुधार देखिएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको परिसूचक अन्त्यमा २२ अंकले घटेर १५४६ अंकमा झरेर बन्द भयो । जुन १.४६ प्रतिशतले घटेको हो ।

बजारमा कारोबारमा आएका सबै सूचक राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ११२ अंकले घटेको छ भने म्युचुअल फण्ड समूह सबैभन्दा कम ०.०८ अंकले घटेको छ ।

मंगलबार सबैभन्दा बढी युनाइटेड फाइनान्सको सेयर मूल्य ६.८२ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ ।