सामान्य अंकले घटेको बजारमा पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो

  २०७७ भाद्र ३० गते ३:३६       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार शुरु भएदेखि उतारचढाव देखिएको बजारमा अन्तत नेप्से परिसूचक १.६५ अंकले घटेर १५३८.८५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटेको हो ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९४ अंकले घटेर ३०५ अंकमा झरेको छ ।

बजारमा कूल १९० कम्पनीको ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर एक अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । मंगलबार प्रतिकित्ता ८ सय ८३ रुपैयाँ रहेको कम्पनीको ७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन, निर्जीवन र म्युचअल फण्ड उकालो लागेको छ भने बाँकी ओरालो लागेका छन् । सबैभन्दा बढी ट्रेडिङ् समूह १६ अंकले घटेको छ ।

ओरालो लागेको बजार पनि ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् । सबैभन्दा बढी दिब्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९.९२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९.८६ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनीको ९.८४ र घलेम्दी हाइड्रोको सेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँ रहेको छ ।