प्रभु बैंकको ३४ करोडकाे प्रमोटर सेयर किनबेच, तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ श्रावण १९ गते ३:३२       विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको ३४ करोड २९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता एक सय २२ रुपैयाँ रहेको छ ।

बैंकले आजमात्र कूल २० लाख कित्ता अर्थात २ अर्ब रूपैयाँ बराबरकाे डिबेन्चर (ऋणपत्र)को बिक्रीमा राखेकाे छ ।

बजारमा कूल एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक सय ९० कम्पनीको सेयर किनबेच भएको बजारमा ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भएको छ ।

सोमबारको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र नेपाल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ५२ रुपैयाँ पुगेको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ९.९२ प्रतिशत अर्थात ५९ रुपैयाँले बढेर प्रतिकित्ता ६ सय ५४ रुपैयाँ पुगेको छ । त्यसैगरी, नेपाल फाइनान्सको सेयर मूल्य ९.४६ प्रतिशतले बढेर एक सय ६२ रुपैयाँ पुगेको छ ।

सोमबारको नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३ अंकमा पुगेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ट १.४७ अंकले बढेर २ सय ९४ अंकमा पुगेको छ ।

बजारमा जीवन बीमा समूह ५८ अंकले बढेको छ । हाइड्रोपावर, फाइनान्स र म्युचअल फण्ड समूह ओरालो लागेको छ भने बाँकी समूह उकालो लागेका छन् ।