सेयर बजारमा हरियाली, अधिकांश हाइड्रोको मूल्यमा उछाल

  २०७७ श्रावण १५ गते ३:२८       विकासन्युज


काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । दुई दिन निरन्तर ओरालो लागेको बजार आज (साउन १५ गते) ७ अंकले उकालो लागेर १४३९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०।५३ प्रतिशतको वृद्धि हो ।

बजारमा कूल एक अर्ब ३२ कम्पनीको सेयर कारोबार भएको छ । एक सय ८९ कम्पनीको ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ९९ रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ५५ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ५०.४६ अंकले बढेको छ ।

बिहीबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९.९६, पञ्चकन्या माई हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।