बजारमा एक अर्ब ३२ करोडको सेयर कारोबार, सबैभन्दा बढी पुनर्बीमा कम्पनीको

  २०७७ श्रावण ८ गते ३:१८       विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बुधबारको तुलनामा २१ करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा एक अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार एक सय ८७ कम्पनीको ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पनुर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । ११ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको कम्पनीकोे सेयर मूल्य प्रतिकित्ता ५ सय ४५ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ३ सय ४२ रुपैयाँ रहेको छ ।

कारोबार अवधिभर केहि उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १०.१३ अंकले बढेर १४४२.६१ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेर ३ सय ३ अंकमा पुगको छ ।

बजारमा कारोबार आएका २ समूह मध्ये बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८५ अंकले बढेको छ । जीवन बीमा १५४ र होटल समूह ४२ अंकले बढेको छ । विकास बैंक र म्युचअल फण्ड सामान्य अंक क्रमशः ३.६५ र ०.०४ अंकले घटेको छ ।

बिहीबार पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । तारागाँउ रिजेन्सी होटल र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओरियन्टल होटलको ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ९.८९ र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ ।