लगातार उकालो लागेको बजारमा करेक्सन, कारोबार रकमले नाघ्यो साढे २ अर्ब

  २०७७ श्रावण ५ गते ३:२९       विकासन्युज

काठमाडौं । पछिल्लाे दुई साता अघिदेखि निरन्तर बढेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार मात्रै अस्वभाविक रुपमा बढेर दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजार त्यसपछिको कारोबारमा भने करेक्सन आएको हो ।

बजार खुलेको केहि सेकेन्डमै ४ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको बजार २० मिनेटको लागि बन्द भएको थियो । त्यसपछि पुनः खुलेको बजार करिब एक मिनेट अर्थात बिहान ११ बजेर २१ मिनेटमै ५ प्रतिशतले बढेर पुनः दोश्रो सकारात्मक सर्किट लागेको थियो ।

साेमबारकाे नेप्से चार्ट

सो अवधिपछि दिउँसो १२ बजेर १ मिनेटमा खुलेको बजारमा विस्तारै सम्हालिँदै अन्ततः १४.०९ अंकले घटेर १४६४.९४ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.९५ प्रतिशतले घटी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८४ अंकले घटेर ३ सय ९ अंकमा झरेको छ ।

सोमबार कूल १८१ कम्पनीको २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन लकडाउन पछिकै उच्च कारोबार हो । दिनभरमा ७० लाख एक हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

असार २४ गतेपछिकाे परिसूचक चार्ट

गत असार २४ गते १३२६ अंकमा रहेको परिसूचक निरन्तर रुपमा बढेर साउन ४ गतेसम्ममा १४७९ अंकमा पुगेको थियो । सो अवधिमा नेप्से परिसूचक एक सय ५३ अंकले बढेको थियो ।

दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार युनाईटेड फाइनान्सको ९.९४, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९० र स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । उता दुई कम्पनी गुराँस लघुवित्त वित्तीय संस्था र मञ्जुश्री फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.७६ प्रतिशतले घटेको छ ।

बजारमा ५ कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनएमबि बैंकको २० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख, एनआईसी एशिया बैंकको १७ करोड ४८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ५५ लाख र नबिल बैंकको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १८८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक समूह १२७, माइक्रोफाइनान्स ८७, होटल ६६ अंकले ओरालो लागेका छन् । विकास बैंक १६, बैंकिङ ३, निर्जीवन बीमा १ र म्युचअल फण्ड समूह ०.०१ अंकले बढेको छ । भने बाँकी समूह राताम्मे देखिएका छन् ।