सामान्य अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

  २०७७ आषाढ़ २५ गते ३:३९       विकासन्युज

काठमाडौं । बिहीबारको बजार सामान्य अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ४.५७ अंकले बढेर १३३१.१० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.३४ प्रतिशत बढी हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४७ अंकले बढेर २८०.४१ अंकमा पुगेको छ ।
बजारमा कूल एक सय ७८ कम्पनीको ९० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा २२ लाख २६ हजार २ सय ३ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड १८ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशत र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । दोश्रो बजारमा पहिलो पटक कारोबार भएको २० मिनेटमै एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेक लागेको थियो । जसको सेयर मूल्य प्रतिकित्ता ३ सय ६४ रुपैयाँ रहेको छ ।

बिहीबार सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किमको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ । सो दिन कारोबारमा आएका ट्रडिङ र बैंकिङ् समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६८ अंकले उकालो लागेको छ ।