उतारचढाव भएको बजारमा एक अर्ब बढीको सेयर किनबेच, सबैभन्दा बढी पुनर्बीमा कम्पनीको

  २०७७ आषाढ़ २४ गते ३:१३       विकासन्युज

काठमाडौं । दिनभर उतारचढाव भएको बुधबारको बजारमा एक अर्ब बढीको सेयर कारोबार भएको छ । बजारमा कूल एक सय ७९ कम्पनीको २९ लाख ७७ हजार ७ सय ६ कित्ता सेयर एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरमा किनबेच भएको हो ।

जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । कम्पनीको २५ करोड ५७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८ रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो दिनको तुलनामा २४ रुपैयाँले बढी हो । मंगलबार कम्पनीको सेयर मूल्य ४ सय ८४ रुपैयाँ रहेको थियो ।

कारोबार खुलेदेखि उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १०.१३ अंकले घटेर एक हजार ३ सय २६ अंकमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटी हो ।

लगातार उकालो लागेको बजार बुधबार एकाएक ओरालो लागेको हो । बजारमा नाफा बुक गर्ने लगानीकर्ताहरुको हावीले पनि बजार घटेको बुझिन्छ ।

बुधबार सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.५४ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ४२ अंकमा पुगेको छ ।

बजारमा ट्रेडिङ र म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । यी दुई समूह क्रमशः १५ र ०.१ अंकले बढेका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ६० अंकले ओरालो लागेको छ ।

त्यस्तै, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ६.९८ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँ रहेको छ ।