डेढ घण्टामै बन्द भयो बुधबारको सेयर कारोबार, अधिकांश कम्पनीकाे सेयर मूल्यमा उछाल

  २०७७ आषाढ़ १७ गते १२:५५       विकासन्युज


काठमाडौं । बुधबारको सेयर बजार कारोबार खुलेको डेढ घण्टामै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेसँगै नियमित समय अगावै आजको लागि सेयर कारोबार बन्द भएको हो ।

करिब डेढ घण्टा खुलेको बजारमा तीन पटकसम्म सर्किट ब्रेक लाग्यो । कारोबार खुलेको १३ मिनेटमै नेप्से परिसूचकमा पहिलो पटक सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार रोकिएको थियो । त्यसपछि खुलेको दुई मिनेट नबित्दै अर्को पटक सकारात्मक सर्किट ब्रेक लागेर पुनः ४० मिनेटको लागि सेयर कारोबार स्थगित भएको थियो । उक्त समय पछि पुनः खुलेको बजारमा फेरि करिब १५ मिनेटको अन्तरालपछि अर्थात १२ बजेर २४ मिनेटमा तेश्रो पटक सर्किट ब्रेक लागेर आजको लागि कारोबार बन्द भएको हो ।

मंगलबारको जस्तै बुधबारको बजारमा पनि तेश्रो पटक सकारात्मक सर्किट ब्रेक लागेर साढे २ घण्टा अगाडि नै बजार बन्द भएको छ ।

बुधबारको नेप्से परिसूचक ७२.७७ अंकले बढेर १३३६.५२ अंकमा पुगेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.१० अंक अर्थात ५.५५ प्रतिशतले बढेर २८७.०२ अंकमा पुगेको छ ।

बजारमा कूल १३५ कम्पनीको ४० करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएको १२ समूहमध्ये होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको सूचक ५४८.५३ अंकले उकालो लागेको छ ।

बुधबार अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सबैभन्दा बढी सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेकाे छ ।