अस्वभाविक रुपमा बढेपछि नेप्सेमा फेरि सर्किट, आजको कारोबार स्थगित

  २०७७ आषाढ़ १६ गते १:०९       विकासन्युज


काठमाडौं । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि तेश्रो पटक सकारात्मक सर्किट लागि बजार बन्द भएको छ ।

नेप्से परिसूचक ६ प्रतिशत बढीले बढेपछि सेयर कारोबार आजको लागि स्थगित भएको छ ।

बजारमा पहिलो एक घण्टा नबित्दै सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार स्थगित भएपछि खुलेको बजारमा पनि परिसूचक निरन्तर रुपमा बढेपछि पुनः १२ बजेर १७ मिनेटमा सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको थियो ।

त्यसपछि पुनः खुलेको सेयर बजारमा परिसूचक उकालो लाग्ने क्रम घटेन । दिउँसो १ बजे नेप्से परिसूचक ६.६ प्रतिशतले बढ्यो र बजारमा सर्किट ब्रेक लाग्यो । यससँगै आजको लागि सेयर कारोबार बन्द भएको छ ।

मंगलबारको बजारमा १३४ कम्पनीको २२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब २ घण्टा भएको कारोबारमा ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा होटल र म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६ सय ३४ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २ सय ९६ अंक र उत्पादनमूलक १ सय २२ अंकले बढेका छन् । माइक्रोफाइनान्स ७७, बैंकिङ्ग ७३, ट्रेडिङ् ६५, विकास बैंक ६५, हाइड्रो ३९ अंकले उकालो लागेका छन् । होटल र म्युचअल फण्ड समूह भने क्रमशः ४७ र ०.०३ अंकले घटेका छन् ।