सम्हालिएर बन्द भयो सेयर बजार, चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि

  २०७७ आषाढ़ १५ गते ३:२७       विकासन्युज

काठमाडौं । लामो समयपछि खुलेको सोमबारको सेयर बजार अन्ततः सम्हालिएर बन्द भएको छ । कारोबार शुरु भएको एक घण्टा नबित्दै नकारात्मक सर्किट ब्रेक लागेको बजार बाउन्स ब्याक भएर बन्द भएको हो ।

कारोबार शुरु भएको ४० मिनेटमै ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटको लागि बन्द भएको थियो । त्यसपछिको खुलेको बजार केहि अंकले ओरोलो लागेपनि साढे १२ बजेपछि बाउन्स ब्याक अर्थात गिरावटमा कमी आएको हो ।

अन्ततः सोमबारको बजार १२.८७ अंकले घटेर एक हजार एक सय ८८ अंकमा अडेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.०७ प्रतिशतले घटी हो ।

बजारमा कूल एक सय ३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब ४ घण्टा खुलेको बजारमा ९ लाख ७० हजार ७६ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा हिमालय डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ३ सय २५ रुपैयाँ रहेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ९.९६ प्रतिशतले बढी हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र नबिल बैंकको २ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् । जीवन बीमा २३७, उत्पादनमूलक १०२, ट्रेडिङ ३९ र अन्य समूह २० अंकले उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१ अंकले ओरालो लागेको छ ।

सोमबार विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ९.९६, नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सेयर ९.९४ र प्रमोटर सेयर ९.८० प्रतिशतले उकालो लागेको छ ।

९८ दिनपछि खुलेको नेप्सेको साइटमा किन देखियो गडबढी ?