५२ प्रतिशत कारोबार अनलाइनबाटै, युजरनेम तथा पासवर्ड लिनेको संख्या बढ्दो

  २०७७ वैशाख ३१ गते १०:५६       विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा ५२.९० प्रतिशत कारोबार अनलाइनबाटै भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार लकडाउनको अवधिमा पहिलो दिन खुलेको बैशाख ३० गतेको बजारमा ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका हुन् ।

सो दिन कूल एक हजार ६ सय ७१ जना लगानीकर्ताले सेयर कारोबार गरेका थिए । करिब एक घण्टा आधा कारोबार भएको बजारमा कूल १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको एक लाख ६ हजार ४ सय १२ कित्ता सेयर किनबेच भएको छ । सो अवधिमा २ सय ९२ कारोबारबाट ८७ कम्पनीको उक्त मात्राका सेयर कारोबार भएको हो ।

यससँगै, अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिनेको संख्या बढेको छ । बैशाख ३० गतेसम्म अनलाइन कारोबार गर्नका लागि २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।