लकडाउन थपियो, के होला त सेयर बजार ?

  २०७७ वैशाख १५ गते १२:४१       विकासन्युज


काठमाडौं । हाल जारी रहेको लकडाउन आगामी वैशाख २५ गतेसम्मको लागि थपिएको छ । सरकारले यस अघि बैशाख १५ गतेसम्म लकडाउन गर्ने भनेको थियो तर कोरोनाको संक्रमित बढ्दै गएपछि लकडाउनलाई पनि थप १० दिनको लागि जारी गरेको हो ।

लकडाउन शुरु भएसँगै सेयर बजार पनि पनि पुरै ठप्प छ । बजार गत चैत १० गतेदेखि हालसम्म अर्थात बैशाख १५ गतेसम्म निरन्तर बन्दै छ ।

बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी थप १० दिनको लागि लकडाउन जारी गर्ने निर्णय गरेको छ । यससँगै, सेयर बजार चाहिँ के हुन्छ भन्ने लगानीकर्तामा कौतुहलता भएको छ । यससम्बन्धि केही लगानीकर्ता लकडाउन अवधिभर बजार बन्द हुनुपर्छ भनेर बसीरहेका छन् भने केही लगानीकर्ता भने बजार खुलाउनु पर्छ भन्ने तिर लागेका छन् ।

यसैबीच धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ठुंगानाले भने बजार अझै १० दिनसम्म बन्द हुने बताएका छन् । विकासन्युजसँग कुरा गर्दै उनले भने- ‘लकडाउन खुकुलो हुने भयो भने चाँहि बजार खुलाउने कि भन्ने कुरा भइरहेको थियो । लकडाउन खुकुलो भएन त्यसैले सेयर बजार पनि आगामी बैशाख २५ गतेसम्मको लागि बन्द हुने छ ।’

त्यस्तै, बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘लकडाउन खुकुलो नहुनु जेल त कसरी खोल्ने ? बजारमा लकडाउन खुकुलो हुने जस्तो कुरा आईरहेको छ । यदि बजार खुकुलो भयो भने चाहिँ कसरी अघि बढ्ने भनेर छलफल भइरहेको छ।’

बजार खुकुलो हुँदाकाे अवस्थामा ५ घण्टाको कारोबारलाई घटाएर २/३ घण्टा गर्न सकिन्छ या सर्किट ब्रेकको लिमिटलाई घटाएर बजार खोल्न सकिन्छ कि भन्ने जस्ता विषयमा नेप्सेसँग छलफल भइरहेको प्रवत्ता गिरीले बताए । तर, अहिल्यै यसबारेमा भने केही निष्कर्ष निस्किएको उनले भने।