लगानीकर्ताको माग विपरित खुलेको बजारमा गिरावट, काराेबार रकम १९ करोडमा सीमित

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । लगानीकर्ताको माग विपरित खुलेको आइतबारको सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.४५ अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.४३ प्रतिशत कम हो ।

सरकारको निर्णयलाई समर्थन गर्दै लगानीकर्ताले चैत ९ गतेदेखि २१ गतेसम्म सेयर बजार नखोल्न माग गरेका थिए । तर पनि नेप्सले चैत ९ गते अनलाइन कारोबार खुल्ला गरेको थियो ।

दिनभरको बजारमा कूल १९ करोड ४६ लाख ४२ हजार ९ सय ८४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १२३ कम्पनीको ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर बिक्री भएको छ ।

सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ । इन्स्योरेन्सको २ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनएमबी बैंकको एक करोड ९६ लाख, हिमालयन डिष्टिलरीको एक करोड ४५ लाख, एनआईसी एशिया बैंकको एक करोड ११ लाख र नबिल बैंकको एक करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । सो दिन गुह्रेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सबैभन्दा बढी अर्थात ९.३७५ प्रतिशतले घटेको छ ।

बजारमा तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । होटल ५३, अन्य ७.२८ र निर्जीवन बीमा समूह १.२६ अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १०३ अंकले ओरालो लागेको छ ।