बजार पुँजीकरण साढे एक खर्बले बढ्यो, २६ अर्बको धितोपत्र निष्काशन गर्न बोर्डको अनुमति

  २०७६ चैत्र ५ गते ४:०३       विकासन्युज

काठमाडौं । सात महिनामा धितोपत्र बजार पुँजीकरण एक खर्ब ५० अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तमा १५ अर्ब ६७ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण माघ मसान्तमा बढेर १७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । जुन वार्षिक विन्दुगत आधारमा २४.७ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, नेप्से परिसूकमा वृद्धि भएको छ । गत असार मसान्तमा १२५९ अंकमा रहेको सूचक माघमा बढेर १३४६ अंकमा पुगेको छ । जुन एक वर्षको अवधिको तुलनामा २१८ अंक बढी हो । २०७५ माघ मसान्तमा यो सूचक ११२८.२ बिन्दुमा रहेको थियो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कूल २६ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले गत असारदेखि माघसम्ममा ऋणपत्र(डिबेन्चर), हकप्रद सेयर, म्यूचअल फण्ड र साधारण सेयर गरी सो मात्राको धितोपत्र जारी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति दिएको हो ।

जसमध्ये सबैभन्दा बढी ऋणपत्र रहेको छ । बोर्डले २१ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । जसमध्ये अधिकांश वाणिज्य बैंकको रहेको छ ।

त्यस्तै, ३ अर्ब ७३ करोडको हकप्रद सेयर, एक अर्बको म्यूअल फण्ड र ३३ करोड ५१ लाखको साधारण सेयर रहेको छ । बोर्डको अनुमति पाएका विभिन्न बैंक तथा वित्तीय संस्थाले केहीले सर्वसाधारणमा निष्काशन गरिसके भने केहीले निष्काशन गर्न बाँकी छन् ।

चालु आवको सात महिनामा कूल ६९ अर्ब ५४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । जसमध्ये १९ अर्ब ४६ करोड रुपैयाँको डिबेन्चर, १९ अर्ब १३ करोड रुपैयाँको बोनस सेयर, १० अर्ब ५६ करोड रुपैयाँको साधारण सेयर रहेको छन् ।

त्यस्तै, म्यूचअल फण्ड ५ अर्ब ७५ करोड रुपैयाँको, हकप्रद २ अर्ब ९६ करोड रुपैयाँको र अन्य ११ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र बोर्डमा सूचीकृत भएका छन् ।