४४ अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब ४६ करोडमा सीमित

  २०७६ चैत्र ४ गते ४:२२       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ४४.३३ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा १२७२.०६ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३७ प्रतिशत कमी हो ।

बजारमा एक अर्ब ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको ९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

मंगलबार कारोबारमा आएका मध्ये म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा ४२६ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ३३८ र उत्पादनमूलक समूह ११५ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेका छन् ।

मंगलबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेको छ । उता कमाउनेमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता अग्रस्थानमा छन् । जसको सेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ ।