नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आजदेखि खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

  २०७६ चैत्र ४ गते ९:२९       विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आगामी आज(चैत ४ गते) देखि छिटाेमा आगामी चैत ७ गते र ढिलाेमा चैत १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल एक करोड ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये कूल एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्री गरिने छ ।

यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।