४.६६ प्रतिशतले घट्यो नेप्से, जीवन बीमा ६२१ अंकले ओरालो

  २०७६ चैत्र २ गते ४:२५       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार ४.६६ प्रतिशतले ओरालो लागेको छ । पाँच घण्टा कारोबार भएको पहिलो दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ अंकमा झरेको छ ।

बजारमा १७४ कम्पनीको सेयर किनबेच भएको छ । दिनभर ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा करिब १० करोड रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

काराेबार शुरू भएदेखि निरन्तर ओरालो लागेको बजारमा काराेबारमा आएका सबै समूह सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६२१.८८ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ४१६.७३ अंकले ओरालो लागेको छ । म्युचअल फण्ड समूह सामान्य ०.३१ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

आइतबार सामूदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, अन्य ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ ।

सो दिन तीन कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । यूनाईटेड मोदी हाइड्रोपावर, सिन्धु विकास बैंक र वोमी माइक्रोफाइनान्सको सेयर मूल्य सामान्य क्रमशः ०.९७, ०.७७ र ०.४७ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १७ करोड ३६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ११ करोड ४६ लाख र एनएमबी बैंकको १० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।