सेञ्चुरी बैंकले तोक्यो एजीएमको मिति, फागुन ३० गते बुक क्लोज

  २०७६ फाल्गुन २२ गते १:२५       विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा(एजीएम)को मिति तोकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो ।

सभामा जाने प्रयोजनको लागि फागुन ३० गते बैंकको सेयर कारोबार बन्द गर्ने निर्णय भएकाे छ । सो निर्णय फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ । कम्पनीले सेयरधनीलाई १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।

सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको बोनस र नगद लाभांश पाउने छन् ।