बजारमा करिब दुई अर्बको आईपीओ आउँदै, कसकाे कति ?

  २०७६ फाल्गुन ६ गते २:३७       विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा करिब दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) आउँदै छ । बजारमा विभिन्न दुई संस्थाले एक अर्ब ९३ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा सो मात्राको सेयर निष्काशन गर्न लागेका हुन् । बोर्डले फागुन ४ गते मात्रै दुई संस्थालाई अंकित मूल्य १०० रुपैयाँ दरको एक करोड ९३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।

सो मध्ये एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्टले कूल ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत ३३ लाख ९८ हजार ०४७ कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

त्यस्तै, पूनर्बीमा कम्पनीले एक करोड ६० लाख कित्ता आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग मार्केटमार्फत एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ ।