सेयर बजारमा नयाँ इतिहास, पहिलो पटक २ अर्ब ६८ करोडको कारोबार

  २०७६ फाल्गुन ५ गते ३:१८       विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । बजारमा एकैदिन दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा १७५ कम्पनीको सो मात्राको सेयर किनबेच भएको हो ।

यस अघि १४ फेब्रुअरी २०१९ मा पहिलो पटक २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता साे भन्दा बढी काराेबार भएकाे थिएन । तर साेमबारकाे बजारले नयाँ इतिहास रचेकाे छ ।

साढे दुई अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४.२६ अंकले बढेर १३९८.२४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५१ प्रतिशतले बढी हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ८.०४ अंकले बढेर २९३.८६ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा २.८१ प्रतिशतले बढी हो ।

सो दिन कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८१.८२ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा ११७ अंकले उकालो लागेको छ । फाइनान्स, माइक्रोफाइनान्स, अन्य र म्युचअल फण्ड समूह सामान्य सिंगल डिजिटले बढेका छन् भने बाँकी समूह डबल डिजिटले बढेका छन् ।

तीन कम्पनीको मूल्यमा सर्किट ब्रेक

बजारमा उछाल छाएको दिन तीन कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । सोमबार पञ्चकन्या माई हाइड्रोपावर, न्याङ्दी ग्रुप पावर र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता ९ हजार ५ सय ९८ रुपैयाँमा किनबेच भएको छ ।