आईएमई जनरल इन्स्योरेन्सको एजीएम फागुन २४ गते, यस्ता छन् विशेष प्रस्ताव

  २०७६ फाल्गुन ५ गते १२:२९       विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको २२औं वार्षिक साधारणसभा(एजीएम) आगामी फागुन २४ गते बस्ने भएको छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित बैंङक्वेटसमा बस्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ नाघ्ने छ ।

साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, इन्स्योरेन्स सञ्चालक समितिले कम्पनीको संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना संचालक निर्वाचन गर्ने सामान्य प्रस्ताव गरेको छ ।

त्यस्तै, सभाले संस्थापक सेयरधनी समूहतर्फ र सर्वसाधारण सेयरधनी समूहतर्फको सेयर संसोधन गर्ने भएको छ । संस्थापक सेयरधनी समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ ४० प्रतिशत कायम गर्ने विशेष प्रस्तावलाई सभाले अनुमोदन गर्ने छ । यसअघि कम्पनीको जारी तथा चुक्ता पुँजीको अनुपात संस्थापक सेयरधनी समूहतर्फ ८० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहतर्फ २० प्रतिशत रहेको थियो ।

कम्पनीले उक्त सभामा जाने प्रयोजनको लागि फागुन १२ गतेदेखि फागुन २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।