आईसीएफसी फाइनान्सले फागुन १३ गतेदेखि ऋणपत्र निष्काशन गर्दै, यस्तो छ कम्पनीको अवस्था

  २०७६ फाल्गुन ४ गते ७:४२       विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सले फागुन १३ गतेदेखि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । संस्थाले वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सो मध्ये १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने छ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ८० हजार कित्ता ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको संस्थाले जानकारी दिएको छ ।

७ वर्ष अवधि रहेको यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७६ हजार कित्तासम्मको लागि ऋणपत्रमा आवेदन दिन सक्नेछन् । उनीहरुले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल मार्फत छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले संस्थाले निष्काशन गर्न लागेको उक्त ऋणपत्रलाई एनपी त्रीपल बी माइनस रेटिङ्ग दिएको छ । जसले कम्पनीको ऋणपत्रमा कर्जा जोखिम औसत रहेको बुझाउँछ ।