बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, कारोबारको टप टेनमा इन्स्योरेन्स मात्रै ७ वटा

  २०७६ फाल्गुन ४ गते ३:३३       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा देखिएको छ । सो दिनको बजारमा जीवन र निर्जीवन बीमा दुबै समूह ४०० भन्दा बढी अंकले उकालो लागेका छन् ।

जसमध्ये निर्जीवन बीमा समूह ४१६ अंकले बढेर ६ हजार ६१७ अंकमा पुगेको छ । त्यस्तै, जीवन बीमा समूह ३९८ अंकले उकालो लागेर ८ हजार ३५ अंकमा पुगेको छ ।

आइतबार बढी कारोबार गर्ने टप टेनको सूचीमा बीमा कम्पनी मात्रै ७ वटा परेका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको ४ करोडदेखि ९ करोड रुपैयाँ सम्मको सेयर किनबेच भएको छ ।

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा अधिकांश सूचांकहरुमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै लगानीकर्ताहरु आकर्षित देखिएका हुन् ।

आइतबार मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कूल १७६ कम्पनीको एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये हिमालयन डिष्टिलरीको १८ करोड रुपैयाँ र शिवम् सिमेन्टसको १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि लगातार ७ वटा बीमा कम्पनी बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । त्यस्तै, नागरिक लगानीकोषको ४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा नेप्से परिसूचक १९.३९ अंकले बढेर १३६३.९७ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.४४ प्रतिशतले बढी हो ।