नेप्से साताभरकै उच्च बिन्दुमा, बिहीबार करिब दुई अर्बको कारोबार, लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा

  २०७६ माघ १६ गते ३:४५       विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक १९.५१ अंकले उकालो लागेर १३२५.३८ अंकमा पुगेको छ । जुन साताभर कै उच्च अंक हो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १२९७.४८ अंकमा रहेको थियो ।

बुधबारको तुलनामा बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बिहीबारको बजारमा करिब दुई अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कूल १७८ कम्पनीको एक अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

पछिल्लो समय बजारमा बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार पनि बढी कारोबार गर्नेको टप टेन लिष्टमा बीमा कम्पनी मात्रै ८ वटा रहेका छन् । जसमध्ये सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम लाइफको ७ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ९३ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८१ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ६० लाख, नेको इन्स्योरेन्सको ५ करोड २५ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा मात्र नभई बढी कमाउनेमा पनि बीमा कम्पनी नै अगाडि देखिएका छन् । बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट ब्रेक लागेको छ । कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँमा पुगेको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँ रहेको छ ।

बिहीबार कारोबारमा आएका १२ समूह सूचकमध्ये ट्रेडिङ बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २२४.६४ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा १६८ अंकले बढेको छ । ट्रेडिङ समूह भने १५.३१ अंकले ओरालो लागेको छ ।