शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति

  २०७६ माघ १६ गते १:४२       विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिँएसँगै कम्पनीले चुक्ता पुँजीको सो मात्रा अर्थात ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

बोर्डले गत माघ १४ गते कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँको दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ नाघ्ने छ ।