सेयर बजारमा सुधार टिकेन, नेप्से घटेर १३०० अंक तल

  २०७६ माघ ९ गते ३:३६       विकासन्युज


काठमाडौं । बिहीबार सेयर बजार कारोबार मापक नेप्से परिसचूक १३०० अंकभन्दा तल झरेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक १५.९५ अंकले ओरालो लागेर १२९७ अंकमा झरेको छ । जुन १.२१ प्रतिशत घटी हो ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार कूल एक अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २० करोड रुपैयाँ कम हो । अघिल्लो दिन बुधबारको बजारमा एक अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबार कूल १७२ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको १५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन जीवन बीमा र अन्य समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा र अन्य समूह क्रमशः ४०.८८ र १.७२ अंकले उकालो लागेका छन् । ओरालो लागेकामध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ६६ अंकले घटेको छ ।

बजारमा सिनर्जी पावरका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ९.४७ प्रतिशत कमाएका छन् । उता सिद्धार्थ इक्विटी फण्डको मूल्य ६.९६ प्रतिशतले घटेको छ ।