हिमालयन बैंकको माघ १३ गतेदेखि बुक क्लोज, सभामा लाभांशसहित सञ्चालक निर्वाचन गर्ने प्रस्ताव लैजाँदै

  २०७६ माघ ७ गते २:०६       विकासन्युज

काठमाडौं । हिमालयन बैंकको आगामी माघ १३ गतेदेखि माघ २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि १७ दिनसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी वार्षिक साधारणसभा माघ २९ गते बुधबार हुँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भद्रकाली स्थित त्रिभुवन आर्मि अफिसर्स क्लबमा बस्दै छ ।

सभामा बैंकले सञ्चालक समितिको सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई लैजाँदै छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत (कर सहित) नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

साथै, बैंकले संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ नाघ्ने छ ।