नेपाल बैंकले पठाउन थाल्यो नगद लाभांश, सेयरधनीलाई डिम्याट अपडेट गर्न आग्रह

  २०७६ माघ ६ गते ४:५०       विकासन्युज

काठमाडौं । नेपाल बैंकले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको छ । बैंकले हालसम्म ६७ करोड ६४ लाख १२ हजार ३७८ रुपैयाँ नगद लाभांश सेयरधनीको खातामा पठाइसकेको छ ।

सभाले पारित गरेबमोजिम बैंकले कर कट्टी पश्चात वितरण योग्य लाभांश ९२ करोड ६८ लाख ७० हजार ७१४ रुपैयाँको सो मात्राको लाभांश वितरण गरिसकेको हो । बाँकी २५ करोड ४ लाख ५८ हजार ३३६ रुपैयाँ नगद लाभांश खातामा जम्मा गर्ने प्रकृयामा रहेको बैंकले जनाएको छ ।

पुस २५ गते सम्पन्न बैंकको ६०औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

हालसम्म पनि विभिन्न सेयरधनीहरुको ४ हजार ५४६ वटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ प्लेजमा रहेको जानकारी गराएको छ । त्यसैले डिम्याट गर्न बाँकी शेयरधनीहरुले छिटो भन्दा छिटो खाता डिम्याट गर्न उनीहरुलाई आग्रह गरेको छ ।

सिभिल क्यापिटल मार्केट्स लि. बाट सम्पूर्ण हस्तान्तरण योग्य तथा नन प्लिडज सेयरहोल्डरहरुको विवरण प्राप्त भैसकेको हुँदा बाँकी रहेको नगद लाभांश बितरण नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) संगको सहकार्यमा छिट्टै गरिने बैंकले जानकारी दिएको छ ।

साथै चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनश शेयर वितरण गरेको छ । यससँगै बैंकको अधिकृत पुँजी १५ अर्र्ब र जारी तथा चुक्ता पुँजी वृद्धि गरी ११ अर्ब २८ करोड रुपैयाँ कायम गर्ने प्रकृया अघि बढेको बैंकले जनाएको छ ।