सेयर बजारमा उत्साह कायमै, परिसूचक घटेपनि झण्डै दुई अर्बको कारोबार

  २०७६ माघ ६ गते ३:२४       विकासन्युज

काठमाडौं । सेयर बजारमा उत्साह कायमै रहेको छ । निरन्तर उकालो लागेको परिसूचकमा सोमबार करेक्सन हुँदा बजारमा करिब २ अर्ब बराबरको सेयर किनबेच भएको छ । जसले बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको जनाउँछ ।

सोमबारको नेप्से परिसूचक २६.५४ अंकले घटेर १३१७ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले घटेको हो । गत दुईसातादेखि निरन्तर दोहोरो अंकले बढेर उच्च अंकमा पुगेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको हो ।

दोहोरो अंकले घटेको बजारमा एक अर्ब ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी अर्थात २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएका १२ वटै समूह राताम्मे देखिएका छन् । आइतबार त्रिपल डिजिटले बढेका जीवन र निर्जीवन बीमा समूह त्रिपल डिजिटले नै ओरालो लागेका छन् । जीवन बीमा १५४ र निर्जीवन बीमा ११६ अंकले घटेका छन् । त्यस्तै, म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।