खुल्ने भयाे ग्लोबल आईएमई बैंकको सेयर कारोबार, मूल्य कति ?

  २०७६ माघ ५ गते ४:०८       विकासन्युज

काठमाडौं । नेपालकै ठूलो र बलियो बैंक ग्लोबल आईएमईको भोलि सोमबारदेखि सेयर कारोबार शुरु हुने भएको छ । साविककाे जनता बैंक नेपालसँग मर्ज पछि बैंकको दोश्रो बजारमा पहिलो पटक सेयर कारोबार हुन लागेको हो ।

नेप्सेले पहिलो कारोबारको लागि बैंकको सेयर मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकेको छ । मर्ज हुनुभन्दा अघि बैंककाे सेयर प्रतिकित्ता २९५ रूपैयाँमा काराेबार भएकाे थियाे । दोश्रो बजारमा बैंकको स्टक सिम्बोल(जीबीआईएमई)को नामबाट कारोबार हुने छ ।

मर्जपछि बनेकाे ग्लोबल आईएमईको माघ १ गते ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएकाे थियाे । साविकको जनता बैंकसँग एक आपसमा गाभिई १ः०.८५ को स्वाप रेसियो अनुसार सो मात्राको सेयर बुधबार नेप्सेमा थपिएकाे हो ।

यस अघि बैंकको ११ करोड ७६ लाख ७१ हजार ७१७ कित्ता सेयर सूचीकृत नेप्सेमा सूचीकृत भएको थियो । बुधबार सूचीकृत भएको ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता गरी बैंकको हाल कूल १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।